काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले प्रधानमन्त्री बालेन शाह लाई आफ्ना मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयमता अपनाउन ध्यान दिन आग्रह गरेका छन्।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले निर्माण कार्यमा ढिलाइ गर्ने ठेकेदारको “खुट्टा भाँचिदिनुस्” भन्ने अभिव्यक्ति दिएको प्रसंग उल्लेख गर्दै शर्माले यस्तो भाषा र व्यवहारले समाजमा गलत सन्देश जाने बताएका हुन्।
भिडिओ सन्देशमार्फत उनले पछिल्ला दिनमा विभिन्न ठाउँमा देखिएका आक्रामक र दण्डात्मक गतिविधिहरूको उदाहरण दिँदै समाजमा हिंसात्मक सोच बढ्न थालेको हो कि भन्ने चिन्ता व्यक्त गरे। उनले धनगढीमा एक श्रमिक महिलाको टेम्पो भीरबाट खसालिएको घटना तथा सिराहामा परीक्षा केन्द्रबाट बरामद मोबाइल फोन पानीमा डुबाएर नष्ट गरिएको घटनालाई पनि स्मरण गरे।
शर्माले कानुनको शासनभन्दा बल प्रयोगलाई प्राथमिकता दिने प्रवृत्ति बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई आफ्ना मन्त्री तथा सरकारी नेतृत्वलाई जिम्मेवार र मर्यादित अभिव्यक्ति दिन सचेत गराउन आग्रह गरे।
उनले प्रश्न गरे, “समाज कता जाँदै छ ?” र समस्याको समाधान कानुनी प्रक्रिया तथा संस्थागत व्यवस्थाबाट खोजिनुपर्ने धारणा राखे।




































