काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माथि तीव्र आक्रमण गर्दै उक्त पार्टीलाई “राजा र धर्मको नाम बेचेर राजनीति गर्ने समूह” को संज्ञा दिएका छन्।  आइतबार काठमाडौंमा नयाँ राजनीतिक दल गठनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले राप्रपाले वर्षौंदेखि राजसंस्था र हिन्दुराष्ट्रको मुद्दालाई केवल भोट बटुल्ने माध्यम बनाएको आरोप लगाए।

“राप्रपाको काम राजा र धर्म साटेर भोट लिने, सांसद बन्ने, भत्ता खाने र सत्ता सुविधामा रमाउने मात्रै हो,” प्रसाईंले भने, “जनताको जीवन, विकास र राष्ट्रको भविष्यसँग उनीहरूको कुनै सरोकार छैन।”

यता राप्रपा परित्याग गरेर प्रसाईंसँग नयाँ राजनीतिक मोर्चा बनाउन लागेका धवलशम्शेर राणाले पनि बालेन शाह नेतृत्वको सरकारमाथि कडा टिप्पणी गरेका छन्। उनले सरकार गठन भएको १०० दिन नपुग्दै जनतामाझ निराशा फैलिएको दाबी गरे।

“१०० दिन पनि पूरा नहुँदै सरकारका कमजोरी र गल्तीहरू सतहमा देखिन थालेका छन्,” राणाले भने, “यदि यो सरकार असफल भयो भने जनता नयाँ विकल्प खोज्नेछन्।” राणाले कांग्रेस, एमाले, माओवादी वा राप्रपा नभई राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको एजेन्डा बोकेको नयाँ शक्ति नै जनताको विकल्प बन्ने दाबी गरे। उनले मलमास सकिएलगत्तै नयाँ पार्टीको नाम, झण्डा, संगठन संरचना र राजनीतिक रोडम्याप सार्वजनिक गरिने जानकारी दिए।

प्रसाईं–राणा गठबन्धनले अब देशभर जनतामाझ अभियान चलाउने तयारी गरेको छ। यसले परम्परागत दलप्रति असन्तुष्ट मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।