धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलालीको जिल्ला अधिवेशन विवादमा परेको छ। निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले हालै सम्पन्न अधिवेशन रद्द गर्ने निर्णय गरेको हो। यससँगै निर्वाचित नेतृत्वको वैधानिकतामाथि समेत प्रश्न खडा भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीको कैलाली जिल्ला अधिवेशन पार्टीकै केन्द्रीय निर्वाचन आयोगले खारेज गरेको छ।निर्वाचन आयोगका प्रमुख भुवन केसीले जिल्ला समितिलाई पत्र पठाउँदै अधिवेशन रद्द गरिएको जानकारी दिएका हुन्। आयोगका अनुसार निर्वाचनका क्रममा आवश्यक मापदण्ड र प्रक्रियाको पूर्ण पालना नभएको निष्कर्ष निकालिएको छ।
आयोगले मतदान र मतगणनामा स्थापित नियम उल्लंघन भएको, योग्य सदस्य तथा प्रतिनिधिको सहभागिता सुनिश्चित नभएको र प्रमुख उम्मेदवारहरूले नै निर्वाचन बहिष्कार गरेको तथ्य फेला परेको जनाएको छ। अध्यक्ष पदका आकांक्षी हरि रेग्मी र महेश चौधरीले निर्वाचनअघि नै मतदाता नामावलीप्रति असन्तुष्टि जनाउँदै प्रतिस्पर्धाबाट पछि हटेका थिए। त्यसपछि राति अबेरसम्म मतदान गराएर नतिजा सार्वजनिक गरिएको थियो।
उक्त निर्वाचनबाट कवीन्द्र ठकुल्ला जिल्ला सभापतिमा निर्वाचित भएका थिए। तर निर्वाचन प्रक्रियामाथि लगातार प्रश्न उठेपछि केन्द्रीय आयोगले सम्पूर्ण अधिवेशन नै बदर गर्ने निर्णय गरेको हो। अब कैलालीमा नयाँ नेतृत्व चयनका लागि पुनः अधिवेशन गरिने र त्यसको मिति चाँडै तय गरिने निर्वाचन आयोगले जनाएको छ।





































