विराटनगर । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्षका नेताहरू कोशी प्रदेशस्तरीय भेलामा एकै ठाउँमा जुटेका छन्।
विराटनगरस्थित मनास्लु होटलमा जारी भेलामा कांग्रेसका शीर्ष तथा केन्द्रीय नेताहरूको उल्लेख्य सहभागिता रहेको छ। कार्यक्रममा नेता शेखर कोइराला, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद र मीनबहादुर विश्वकर्मालगायत नेताहरू सहभागी छन्।
यसअघि भएका प्रदेशस्तरीय भेलाहरूमा शेखर पक्षको सहभागिता नरहेको अवस्थामा यसपटक दुवै पक्षका नेताहरू एकै मञ्चमा देखिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। नेताहरूका अनुसार पार्टीभित्रको सहकार्य, आपसी समझदारी र बृहत्तर एकतालाई बलियो बनाउन प्रदेशस्तरीय भेला आयोजना गरिएको हो।
आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण र पार्टीभित्रको एकता सन्देशलाई केन्द्रमा राखेर छलफल भइरहेको जनाइएको छ।





































