कैलाली। कैलालीको गोदावरीमा वन कर्मचारीले एक महिलाको जीविकाको आधार बनेको टेम्पो भिरबाट खसालेको भिडियो सार्वजनिक भएपछि विवाद चर्किएको छ। भिडियोमा कर्मचारीहरू मिलेर टेम्पो धकेलिरहेको दृश्य देखिए पनि वन कार्यालयले भने त्यसलाई ‘दुर्घटनावश खसेको फलामे अस्थिपञ्जर’ भन्दै बचाउ गरेको छ। घटनापछि वन प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेका छन् भने प्रहरीले अनुसन्धान सुरु गरेको छ।
कैलालीको गोदावरीमा वन कर्मचारीले एक महिलाको टेम्पो भिरबाट धकेलेर खसालेको घटनाले नयाँ विवाद जन्माएको छ। सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा कर्मचारीहरू मिलेर टेम्पो भिरतर्फ धकेलिरहेको स्पष्ट देखिन्छ।
घटना गोदावरी नगरपालिका–४ बासपानीको हो। स्थानीय धनादेवी धामीले सडक छेउमा टेम्पो राखेर पानी, बिस्कुट, चाउचाउ र अण्डा बेच्दै जीविकोपार्जन गर्दै आएकी थिइन्। तर वन क्षेत्र अतिक्रमण गरेको आरोप लगाउँदै कर्मचारीहरूले टेम्पो हटाउन पुगेका थिए। धामीको भने आफूले टेम्पो घर लैजान समय माग्दा पनि नसुनी जबरजस्ती भिरबाट फालियो। उनले उक्त टेम्पो चल्ने अवस्थामै रहेको दाबी गर्दै आफूमाथि अन्याय भएको बताएकी छन्।
उता, डिभिजन वन कार्यालय धनगढीले भने घटनालाई फरक ढंगले व्याख्या गरेको छ। कार्यालय प्रमुखसहित २२ कर्मचारीद्वारा जारी विज्ञप्तिमा टेम्पोलाई ‘फलामे अस्थिपञ्जर’ भन्दै हटाउने क्रममा असन्तुलित भएर दुर्घटनावश भिरबाट खसेको दाबी गरिएको छ। वन कार्यालयका अनुसार टेम्पो चल्ने अवस्थामा थिएन र वन क्षेत्रमै खोका बनाएर व्यापार गर्न प्रयोग गरिएको थियो। यसअघि हटाउन निर्देशन दिँदा पनि अटेर गरिएको दाबी वनको छ। तर भिडियो सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भइरहेको छ। प्रहरीले पनि घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
यो साँच्चै दुर्घटना थियो कि गरिबको जीविकामाथि गरिएको बलपूर्वक हस्तक्षेप ? त्यसको उत्तर अनुसन्धानले दिनेछ।






































