काठमाडौं— भारतीय पक्षले नेपाली चिया आयातमा लागू गरेको नयाँ प्रशासनिक व्यवस्थाका कारण चिया निर्यात प्रभावित बनेपछि इलामका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन्। यही अवस्थालाई मध्यनजर गर्दै उद्योगीहरूले असार १ गतेदेखि उद्योग सञ्चालन बन्द गर्ने निर्णय गरेका छन्।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आइतबार जारी गरेको विज्ञप्तिमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ ले नेपाली चिया निर्यातमा अवरोध सिर्जना गरेको उल्लेख गरेको छ। गुणस्तर परीक्षण प्रक्रिया लामो हुनु, परीक्षण प्रतिवेदन ढिलो आउनु तथा भण्डारणसम्बन्धी जटिलताले ठूलो परिमाणमा चिया बिक्री हुन नसकेको उद्योगीहरूको भनाइ छ।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार हाल करिब १२ लाख किलो तयारी चिया मौज्दात रहेको छ। त्यसमध्ये २ लाख किलोभन्दा बढी चिया भारतीय बजारमा पुगेर पनि गोदाममै रोकिएको छ भने नेपालका उद्योगहरूमा झन्डै १० लाख किलो चिया थन्किएको अवस्था छ।
उद्योगीहरूले भारतीय चिया बोर्डले परीक्षणका लागि लगिएका नमुनाको प्रतिवेदन लामो समयसम्म सार्वजनिक नगर्ने र गुणस्तरमा समस्या देखिए चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने व्यवस्था गरेको आरोप लगाएका छन्। यस्तो प्रक्रियाले निर्यात व्यापार थप अन्योलमा परेको उनीहरूको दाबी छ।
निर्यात अवरुद्ध भएपछि उद्योगहरूको नगद प्रवाहमा समस्या आएको र किसानलाई हरियो चिया पत्तीको भुक्तानी गर्न समेत कठिनाइ भइरहेको एसोसिएसनले जनाएको छ। वर्तमान परिस्थितिमा उद्योग सञ्चालनलाई निरन्तरता दिन असम्भवजस्तै बनेकाले असार १ गतेदेखि सम्पूर्ण उद्योग बन्द गर्ने बाध्यात्मक निर्णय गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन्।
उद्योग बन्दको असर किसान, श्रमिक तथा व्यवसायी सबैमा पर्ने भन्दै एसोसिएसनले समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँगै सम्बन्धित निकाय तथा राजनीतिक दलहरूको तत्काल ध्यानाकर्षण गराएको छ।






































