काठमाडौं । नेकपा (एमाले) ले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘मिसन जागरण अभियान’ सुरु गर्ने भएको छ। अभियानका लागि पार्टीले केन्द्रीय सदस्यहरूलाई विभिन्न क्षेत्रमा परिचालन गर्ने तयारी गरेको जनाएको छ।
पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार अभियानको मुख्य उद्देश्य जनतासँगको सम्बन्ध थप मजबुत बनाउनु र आगामी निर्वाचनमा पार्टीको पक्षमा वातावरण सिर्जना गर्नु हो।
एमालेले अभियानअन्तर्गत ‘६ ज’ अवधारणा अघि सारेको छ। जसमा जनतामाझ पुग्ने, उनीहरूका समस्या र सुझाव सुन्ने, जनविश्वास बढाउने, जनसंगठनलाई सक्रिय बनाउने, जनताको बहुदलीय जनवाद (जबज) लाई व्यवहारमा उतार्ने तथा जनमतको आधारमा सक्षम नेतृत्व विकास गर्ने लक्ष्य राखिएको छ।
पार्टीले यस सम्बन्धी कार्ययोजना मातहतका संरचनामा पठाइसकेको जनाएको छ। एमालेले अभियानमार्फत संगठन विस्तार, जनसम्पर्क वृद्धि र निर्वाचन तयारीलाई तीव्र बनाउने रणनीति लिएको बताइएको छ।






































