काठमाडौं । पश्चिम नवलपरासीको सीमावर्ती सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का सुरक्षाकर्मी नेपाली भूभागमा प्रवेश गरेको घटनापछि सरकारले औपचारिक प्रतिक्रिया दिएको छ। सरकारले घटनालाई गम्भीर रूपमा लिएको बताउँदै कूटनीतिक माध्यमबाट आवश्यक पहल गरिने जनाएको छ।
शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सुस्तावासीले सीमाको रक्षा गर्दै आएको भन्दै उनीहरूको भूमिकाको प्रशंसा गरे। उनले सीमा सम्बन्धी संवेदनशील विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने जानकारी दिए।
सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारत सीमा विवादसँग जोडिएको संवेदनशील भूभाग मानिन्छ। पछिल्लो घटनामा भारतीय सुरक्षाकर्मी सीमारेखा पार गरेर नेपाली भूमिमा प्रवेश गरेको आरोप लागेपछि स्थानीय बासिन्दाले विरोध जनाएका थिए।
घटनापछि स्थानीय तहमा तनावको अवस्था सिर्जना भए पनि स्थिति नियन्त्रणमा रहेको जनाइएको छ। सरकारले तथ्य बुझ्ने र आवश्यक कूटनीतिक संवादमार्फत विषय समाधान गर्ने बताएको छ ।
सीमा सुरक्षासँग सम्बन्धित घटनाहरू दोहोरिन थालेपछि सुस्ताको अवस्था र सीमावर्ती नागरिकको सुरक्षाबारे पुनः बहस सुरु भएको छ। स्थानीयले नेपाली भूमिको संरक्षणका लागि सरकार अझ सक्रिय हुनुपर्ने माग गरेका छन्।





































