हुम्ला— भारत सरकारको आर्थिक अनुदानमा हुम्लाको चंखेली गाउँपालिका–२ मा निर्माण हुन लागेको नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास गरिएको छ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण हुन लागेको अस्पताल भवनको लागत करिब १४ करोड ८० लाख रुपैयाँ रहेको छ। परियोजना चंखेली गाउँपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूले भारत सरकारको विकास सहयोगप्रति आभार व्यक्त गर्दै अस्पताल निर्माणपछि दुर्गम क्षेत्रका नागरिकले सहज र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले भिडियो सन्देशमार्फत परियोजनाको सफल कार्यान्वयनको शुभकामना दिँदै नेपाल–भारत विकास साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले नेपाल सरकार र नेपाली जनतासँग सहकार्य गर्दै साझा विकास र समृद्धिका लागि भारत सरकार निरन्तर प्रतिबद्ध रहेको बताए।

एचआईसीडीपी कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेशका ७४ जिल्लामा करिब ६ सय विकास परियोजना सञ्चालन भइसकेका छन्। हुम्लामा यो तेस्रो परियोजना हो। यसअघि सर्केगाडस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा पुस्तकालय भवन तथा चंखेली–दर्मास्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि पनि भारत सरकारले अनुदान सहयोग उपलब्ध गराएको थियो।

721758637_1433228608_QroJQ2axuJ