काठमाडौं । प्रतिनिधिसभाले केही महत्वपूर्ण विधेयक र प्रस्तावमाथि छलफल तथा स्वीकृति दिएपछि संसद् बैठक असार १ गतेसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बसेको बैठकमा आर्थिक वर्ष २०८३र८४ को विनियोजन विधेयकमाथि विचार गर्ने प्रस्तावलाई सांसदहरूले स्वीकृति दिएका छन्। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले प्रस्तुत गरेको प्रस्ताव पारित भएसँगै बजेटमाथिको संसदीय प्रक्रिया अगाडि बढेको छ। बैठकले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयकमाथि विचार गर्ने प्रस्तावलाई पनि स्वीकृति दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उक्त प्रस्ताव संसद्मा पेश गरेका थिए। यस्तै, उद्योगमन्त्री गौरीकुमारीले युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित दुई महत्वपूर्ण महासन्धि संसद्मा पेश गरेकी छन्। सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको कार्यसूची सम्पन्न भएपछि प्रतिनिधिसभाको अर्को बैठक असार १ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको घोषणा गरेका छन्।