काठमाडौं । संविधान संशोधनका विषयमा राष्ट्रिय बहसको आधार तयार पार्न गठन गरिएको सरकारी कार्यदलले तोकिएको समयभित्र काम नसकाएपछि सरकारले यसको म्याद थप गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा रहेको कार्यदललाई असार महिनाभर थप समय दिने निर्णय गरेको हो। कार्यदलले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने जिम्मेवारी पाएको थियो।

गत चैत १६ गते गठन भएको कार्यदलले विभिन्न राजनीतिक, संवैधानिक तथा प्रशासनिक विषयमा सुझाव संकलन गरिरहेको छ। सरकार स्रोतका अनुसार बहसपत्रलाई अझ व्यापक र समावेशी बनाउन थप समय आवश्यक ठहरिएपछि म्याद बढाइएको हो।

संविधान संशोधनको विषय राजनीतिक वृत्तमा लगातार चर्चाको केन्द्रमा रहेका बेला कार्यदलको समय थपिनुलाई आगामी दिनमा हुने सम्भावित संशोधन प्रक्रियाको तयारीका रूपमा पनि हेरिएको छ।