काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेपाल–भारत सीमा विवादको विषय फेरि उठेको छ। राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणलाई लिएर कडा प्रश्न उठाएकी हुन्। शुक्रबार संसद्मा बोल्दै ओलीले दिल्ली भ्रमणअघि सीमा विवादबारे कुरा गर्ने संकेत दिएका परराष्ट्रमन्त्रीले औपचारिक वार्ताका क्रममा भने उक्त विषयलाई उठाउन नसकेको आरोप लगाइन्।

उनका अनुसार विगतका कूटनीतिक भेटवार्तापछि सार्वजनिक हुने संयुक्त वा आधिकारिक प्रेस नोटमा सीमा विवादको विषय कुनै न कुनै रूपमा समेटिने गरेको थियो। तर यसपटक भने सीमा सम्बन्धी मुद्दा औपचारिक दस्तावेजमै नदेखिएको भन्दै उनले चिन्ता व्यक्त गरिन्।

ओलीले परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा समेत सीमा विवादको विषय उल्लेख नभएको बताउँदै सरकारले राष्ट्रिय हितका संवेदनशील विषयमा स्पष्ट धारणा राख्नुपर्ने माग गरिन्।

संसद्मा उनले अब हुन लागेको चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले राष्ट्रिय स्वार्थका मुद्दामा स्पष्ट र दृढ अडान प्रस्तुत गर्नुपर्ने सुझाव पनि दिइन्। सीमा विवादजस्तो संवेदनशील विषयमा सरकारको कूटनीतिक रणनीति कति प्रभावकारी छ भन्ने बहस संसद्मै चर्किन थालेको छ।