काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूको मर्यादामा प्रश्न उठेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पुनले मन्त्रीको अभिव्यक्ति ‘हेप्ने शैलीको’ भएको संकेत गर्दै संसद र समितिको गरिमा कायम राख्नुपर्ने बताए । उनले कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध मर्यादित हुनुपर्ने उल्लेख गरे ।आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर पुनले लेखा समितिकै ध्यानाकर्षण गराए ।
उनले भने, ‘संसद र संसदीय समिति मिनी पार्लियामेन्ट हो । यहाँ सांसदहरूको मर्यादा कायम हुनुपर्छ । मन्त्रीज्यूहरूले सांसदहरूलाई हेप्ने शैलीमा बोल्नु उचित हुँदैन । यदि पुरानाले गरेकै आधारमा अहिले पनि त्यस्तै गर्ने हो भने छानबिन गरौँ । म तयार छु । दोष प्रमाणित भए कारवाही भोग्न तयार छु ।’
उनले बजेट निर्माण प्रक्रिया र आर्थिक निर्णयहरूबारे पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै विगतका नीति तथा निर्णयहरूको समेत पुनरावलोकन गर्न सकिने धारणा राखे । पुनले समितिलाई आर्थिक अनुशासन र जवाफदेहिताको प्रमुख संरचना भन्दै विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए ।





































