पोखरा। पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश अधिवेशन चलिरहेका बेला सभागृहबाहिर अर्को दृश्य देखियो। ‘जेन–जी आन्दोलन’ मा पक्राउ परेका युवाहरूका आफन्त र समर्थकले न्यायको माग गर्दै धर्ना दिएपछि अधिवेशनस्थल वरिपरि केहीबेर राजनीतिक र सामाजिक बहस तात्न पुग्यो । 

रास्वपा गण्डकी प्रदेश अधिवेशन जारी रहँदा पोखरा सभागृहको मुख्य प्रवेशद्वार बाहिर ‘जेन–जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले विरोध प्रदर्शन गरेको छ। आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूविरुद्ध दर्ता गरिएका मुद्दा फिर्ता लिनुपर्ने मागसहित उनीहरूका आफन्त र समर्थकहरू धर्नामा बसेका हुन्। प्रदर्शनकारीहरूले प्लेकार्ड बोकेर आन्दोलनमा सहभागी युवामाथि राजनीतिक पूर्वाग्रहका आधारमा कारबाही गरिएको आरोप लगाए।

धर्नामा सहभागीहरूले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण आन्दोलन नागरिकको संवैधानिक अधिकार भएको भन्दै पक्राउ परेकाहरूलाई न्याय दिन सरकारसँग माग गरेका छन्। उनीहरूले मुद्दा फिर्ता गरी सम्बन्धित पक्षसँग संवादमार्फत समाधान खोज्नुपर्ने धारणा पनि राखे।

रास्वपाको प्रदेशस्तरीय अधिवेशन चलिरहेका बेला भएको प्रदर्शनले राजनीतिक वृत्तको ध्यान आकर्षित गरे पनि कार्यक्रम भने शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सभागृह परिसरमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो।

प्रदर्शनकारीहरूले आफ्ना मागप्रति सम्बन्धित निकाय गम्भीर नभए आगामी दिनमा थप दबाबमूलक आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन्।