काठमाडौं । सरकारलाई जवाफदेही बनाउन कांग्रेसले संसद्मा एकैसाथ तीन वटा प्रतिवेदनको विषय उठाएको छ। मानवअधिकार आयोगको प्रतिवेदनदेखि लिएर भदौ २४ को घटनाबारे प्रस्तावित छानबिन र गृहमन्त्री सुधन गुरुङसम्बन्धी प्रतिवेदनसम्मको अवस्था सार्वजनिक गर्न कांग्रेसले सरकारसँग माग गरेको हो।
शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद भरतबहादुर खड्काले छानबिन भएर तयार भएका प्रतिवेदनहरू कार्यान्वयन नहुँदा जनतामा अन्योल बढेको बताए।
उनले भदौ २३ गतेको घटनाबारे छानबिन सम्पन्न भए पनि त्यसको भोलिपल्ट भएको घटनाको अनुसन्धान कहिले सुरु हुन्छ भन्ने प्रश्न उठाए। साथै सोही विषयमा राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदनसमेत अझै कार्यान्वयनमा नआएको भन्दै सरकारको ध्यानाकर्षण गराए। खड्काले मानवअधिकार आयोगको प्रतिवेदनमा प्रभावशाली राजनीतिक व्यक्तिहरूको नामसमेत उल्लेख भएको दाबी गर्दै प्रतिवेदनलाई अलपत्र पार्न नहुने बताए। उनका अनुसार दोषी जोसुकै भए पनि कानुनी प्रक्रियामा ल्याउन सरकार प्रतिबद्ध देखिनुपर्छ।
यस्तै उनले सरकारको सयबुँदे कार्ययोजनामा समेटिएको भदौ २४ को घटनाबारे छुट्टै छानबिन आयोग गठन गर्ने प्रतिबद्धता अहिलेसम्म पूरा नभएको विषय पनि उठाए। संसद्मा खड्काले गृहमन्त्री सुधन गुरुङको सम्पत्ति र आर्थिक कारोबारबारे बनेको छानबिन प्रतिवेदनको विषय पनि जोडदार रूपमा उठाए। प्रतिवेदन तयार भएर सरकारलाई बुझाइएको चर्चा भए पनि सार्वजनिक नगरिएको भन्दै उनले प्रश्न गरे— प्रतिवेदन कहिले सार्वजनिक हुन्छरु
एउटा होइन, तीन–तीन वटा प्रतिवेदनको अवस्था एकैपटक उठाउँदै कांग्रेसले सरकारको पारदर्शितामाथि प्रश्न खडा गरेको छ।






































