काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सुरक्षाको विषय उठाउँदै सरकारसँग जवाफ मागेका छन्। उनले संसद्मै रक्षामन्त्रीको खोजी गर्दै सीमाक्षेत्रमा देखिएको गतिविधिबारे स्पष्ट उत्तर दिन आग्रह गरेका हुन्।

 शुक्रबारको बैठकमा बोल्दै साम्पाङले सुस्ता क्षेत्रमा भारतीय सुरक्षा अधिकारीले नेपाली नागरिकलाई हप्कीदप्की गरेको भनिएको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे सरकार किन मौन बसेको भन्ने प्रश्न उठाए।

उनले सभामुखमार्फत रक्षामन्त्रीलाई सदनमा उपस्थित गराउन माग गर्दै सीमासम्बन्धी विषयमा प्रत्यक्ष जवाफ चाहिएको बताए। साम्पाङले नेपाली सेना सीमाक्षेत्रमा किन परिचालन नभएको भन्दै सरकारको नीति र निर्णयबारे समेत जानकारी माग गरे।

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्दै आएका बेला साम्पाङको प्रश्न प्रत्यक्ष रूपमा सरकारको सीमा सुरक्षासम्बन्धी भूमिकातर्फ केन्द्रित देखिएको छ।

उनले नेपाल–भारत सीमा क्षेत्रमा देखिने यस्ता घटनाप्रति सरकार गम्भीर हुनुपर्ने बताउँदै राष्ट्रिय सुरक्षासँग जोडिएका विषयमा संसद्ले स्पष्ट जानकारी पाउनुपर्ने धारणा राखे।