काठमाडौं । करका दर हेरफेरको विषयलाई लिएर संसद्मा चर्किएको बहस अब राजनीतिक चुनौती र प्रतिचुनौतीको तहमा पुगेको छ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति जवाफ फर्काएका छन्। उनले विगतका सबै घटनाको निष्पक्ष छानबिन गर्न प्रतिपक्ष तयार रहेको घोषणा गर्दै सत्य तथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गरेका हुन्।

बरालले कुनै पनि विषयलाई दबाएर नभई अनुसन्धानमार्फत टुंगो लगाउनुपर्ने बताए। यदि अघिल्ला सरकार वा दलका कमजोरी छन् भने त्यसलाई पनि सार्वजनिक गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो।

एमाले सांसद बरालले करका दर हेरफेर प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत दोहोर्‍याए। उनका अनुसार छानबिनबिना विवाद समाधान नहुने र यस्ता घटनाले भविष्यमा गलत अभ्यासलाई प्रोत्साहन गर्ने खतरा रहन्छ।

यो प्रतिक्रिया बिहीबार अर्थमन्त्री वाग्लेले संसद्मा दिएको अभिव्यक्तिपछि आएको हो। वाग्लेले आफूमाथि आरोप लगाउने सांसदहरूलाई लक्षित गर्दै विगतका विभिन्न प्रकरण पनि सार्वजनिक हुन सक्ने संकेत गरेका थिए।

त्यसपछि राजनीतिक वृत्तमा आरोप–प्रत्यारोप थप चर्किएको छ। सत्ता र प्रतिपक्षबीचको यो विवाद अब संसदीय छानबिन समितिको मागसँगै अझै तात्ने देखिएको छ।