काठमाडौं । नेपाली कांग्रेसले देशभर सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानमा उल्लेखनीय सहभागिता देखिएको छ। पार्टीका अनुसार हालसम्म पाँच लाख ३८ हजारभन्दा बढी सदस्यको क्रियाशील सदस्यता अद्यावधिक भइसकेको छ।

कुल सात लाख ८२ हजार २०९ जना सदस्य अद्यावधिकका लागि योग्य रहेकामा पाँच लाख ३८ हजार ६२२ जनाले प्रक्रिया पूरा गरेका छन्। यस्तै, एक लाख ४९ हजारभन्दा बढी सदस्यले फारम बुझाएर अद्यावधिक प्रक्रियामा सहभागिता जनाएका छन्।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार दुर्गम हिमाली तथा पहाडी क्षेत्र, इन्टरनेट पहुँच कम भएका जिल्लाहरू र विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा सदस्यता अद्यावधिक कार्य अझ व्यवस्थित बनाइनेछ।

पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला राख्ने निर्णय गरेको छ। यसअघि थप गरिएको समयसीमा सकिएपछि जेठ २८ गते मध्यरातसम्म पुनः अवधि बढाइएको थियो।

कांग्रेसले संगठनलाई प्रविधिमैत्री, व्यवस्थित र बलियो बनाउने लक्ष्यसहित सञ्चालन गरिएको अभियानमा देशभरबाट उत्साहजनक सहभागिता प्राप्त भएको जनाएको छ।