काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपाका सांसद वर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कडा असन्तुष्टि जनाएका छन्। उनले अर्थमन्त्रीले सांसदहरूलाई सम्मानजनक व्यवहार गर्नुको सट्टा दबाब र धम्कीको संकेत दिने शैलीमा प्रस्तुत भएको आरोप लगाए।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बिहीबार बसेको बैठकमा बोल्दै पुनले करका दर हेरफेर र सूचना चुहावटसम्बन्धी विवादमा अर्थमन्त्रीको जवाफ अस्वाभाविक रहेको बताए। उनका अनुसार विगतका सरकारका निर्णयहरूलाई जोडेर वर्तमान विषयलाई बचाउ गर्न खोजिएको देखिएको छ।
“पहिलाका फाइल खोजेर छानबिन गर्छौं, उनीहरूले धेरै गल्ती गरे, हामीले कम मात्रै गरेका छौं भन्ने आशयको अभिव्यक्ति आएको महसुस भयो,” पुनले बैठकमा भने, “यस्तो प्रस्तुति संसद् र सांसदहरूको मर्यादासँग मेल खाँदैन।”
पुनले संसदीय समितिको गरिमामाथि समेत असर पर्ने गरी अभिव्यक्ति आएको दाबी गर्दै समितिका सभापतिले आवश्यक निर्देशन दिनुपर्ने माग गरे। यस विषयमा समितिका सभापति भरतबहादुर खड्काले आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।
करका दर परिवर्तन र त्यससम्बन्धी सूचना बाहिरिएको विषयमा संसद् र समितिमा निरन्तर बहस भइरहेका बेला अर्थमन्त्री र सांसदबीचको यो आरोप–प्रत्यारोपले राजनीतिक चर्चा थप चर्काएको छ।




































