काठमाडौं— संयुक्त राज्य अमेरिका, बेलायत, अस्ट्रेलियासहित युरोपका विभिन्न राष्ट्र गरी २२ देशले इरानलाई विदेशी भूमिमा हुने भनिएका आक्रमण, अपहरण तथा डर–धम्कीका गतिविधि तत्काल बन्द गर्न संयुक्त रूपमा चेतावनी दिएका छन्।

बिहीबार जारी संयुक्त विज्ञप्तिमा ती देशहरूले इरानसँग आबद्ध सुरक्षा तथा गुप्तचर निकायहरू विदेशी मुलुकमा रहेका इरानी असन्तुष्ट, पत्रकार, यहुदी तथा इजरायली समुदायलाई लक्षित गर्दै विभिन्न गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्।

विज्ञप्तिअनुसार हत्या, अपहरण, उत्पीडन, धम्की वा अन्य प्रकारका हिंसात्मक प्रयासले सम्बन्धित देशहरूको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थामाथि चुनौती सिर्जना गर्ने भएकाले यस्ता कार्य तत्काल रोक्न इरानलाई आग्रह गरिएको छ।

संयुक्त वक्तव्यमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) अन्तर्गतको गुप्तचर संयन्त्र र यसको विदेशी अपरेसन शाखा कुद्स फोर्सले विदेशमा रहेका इरानी विपक्षी, पत्रकार तथा यहुदी र इजरायली समुदायसँग सम्बन्धित व्यक्ति र संस्थालाई लक्षित गरी गोप्य तथा घातक गतिविधि सञ्चालन गरेको आरोपसमेत लगाइएको छ।

हस्ताक्षरकर्ता राष्ट्रहरूले आफ्ना नागरिक र राष्ट्रिय सुरक्षाको संरक्षणमा आफूहरू एकजुट रहेको जनाउँदै अन्तर्राष्ट्रिय सुरक्षा र कानुनी व्यवस्थालाई कमजोर बनाउने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

उनीहरूले इरानसँग सम्बन्धित मानिएको ‘हरकत अशाब अल–यामिन अल–इस्लामिया’ नामक समूहमार्फत युरोपका विभिन्न स्थानमा यहुदी समुदाय, इरानी तथा अमेरिकी पत्रकारलाई निशाना बनाउने अभियान सञ्चालन गरिएको दाबी पनि गरेका छन्। ती गतिविधिमा इरानको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको आरोप विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैबीच, कम परिचित उक्त समूहले लन्डनको गोल्डर्स ग्रीन क्षेत्रमा रहेका सभास्थल र यहुदी समुदायसँग सम्बन्धित केन्द्रहरूमा हालै भएका श्रृङ्खलाबद्ध आगजनी घटनाको जिम्मेवारी लिएको बताइएको छ। गोल्डर्स ग्रीन लन्डनको प्रमुख यहुदी समुदाय बसोबास गर्ने क्षेत्र मानिन्छ।

यता, इरानले यी आरोपबारे तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। पछिल्ला वर्षहरूमा इरान र पश्चिमी मुलुकबीच सुरक्षा, क्षेत्रीय प्रभाव तथा गुप्त गतिविधिसम्बन्धी विवाद बढ्दै गएको सन्दर्भमा यो संयुक्त चेतावनीलाई इरानमाथिको थप कूटनीतिक दबाबका रूपमा हेरिएको छ।