काठमाडौं । प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको अधिकारमाथि दबाब बढ्दै गएको भन्दै नेपाल पत्रकार महासंघ काठमाडौं शाखा सडकमा उत्रिएको छ। पत्रकारहरूले सरकारका मिडिया सम्बन्धी नीतिप्रति असन्तुष्टि जनाउँदै तत्काल सुधारको माग गरेका छन्।

बबरमहलस्थित सडक विभाग परिसर अगाडि आयोजित विरोध प्रदर्शनमा पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, सहज सूचना प्रवाह र सञ्चारमैत्री वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका हुन्। प्रदर्शनकारीले ‘मिडिया विरोधी नीति खारेज गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘सूचना प्राप्तिको अधिकार सुनिश्चित गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए।

महासंघले प्रेस स्वतन्त्रता केवल पत्रकारको मुद्दा नभई लोकतन्त्र र नागरिक अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै संवैधानिक अधिकारको पूर्ण कार्यान्वयनको माग गरेको छ। पत्रकारहरूले सञ्चार क्षेत्रका समस्या र महासंघका मागप्रति सरकार गम्भीर नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।