काठमाडौं । राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभा फेरि प्रभावित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि संसद् बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको छ।

संसद् भवनभित्र छलफल चलिरहे पनि सदन भने खुल्न सकेन। विपक्षी दलको अवरोध, सत्ता–प्रतिपक्षबीचको रस्साकस्सी र जारी राजनीतिक परामर्शका कारण बैठक समयमै बस्न नसकेको बुझिएको छ।

प्रतिनिधिसभा नियमावलीअनुसार तोकिएको समयदेखि दुई घण्टासम्म पनि बैठक सुरु हुन नसके स्वतः स्थगनको प्रक्रिया लागू हुने व्यवस्था छ। सोही कानुनी व्यवस्थाअनुसार सभामुखले नयाँ समय तोकेका हुन्।

पछिल्ला दिनहरूमा संसद् लगातार अवरोधको चपेटामा पर्दै आएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरू आक्रामक बनेपछि सदनको कामकारबाही प्रभावित हुँदै आएको छ।