काठमाडौं । नेपाली कांग्रेसले आफ्ना जनप्रतिनिधि र पार्टी संरचनामा रहेका पदाधिकारीलाई आज मध्यरातसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न कडा निर्देशन दिएको छ। तोकिएको समयभित्र नवीकरण नगर्नेहरूले आगामी १५ औँ महाधिवेशनमा सहभागी हुन नपाउने चेतावनी दिइएको छ।
महाधिवेशनको तयारी तीव्र भइरहेका बेला कांग्रेसले संघीय सांसद, प्रदेश सांसद, मुख्यमन्त्री, मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्मलाई सदस्यता अद्यावधिक अनिवार्य गरेको हो।
पार्टी केन्द्रीय समिति, प्रदेश, जिल्ला, पालिका र वडा तहका पदाधिकारी तथा सदस्यहरूलाई पनि आजैभित्र विवरण अद्यावधिक गरिसक्न भनिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्थाका नेतृत्व तहलाई समेत यही नियम लागू गरिएको छ।
कांग्रेसले जेठ १ गतेदेखि सुरु गरेको अद्यावधिक अभियान अन्तिम चरणमा पुगेको छ। पार्टी स्रोतका अनुसार महाधिवेशन प्रतिनिधिको योग्यता निर्धारणमा क्रियाशील सदस्यताको अवस्था मुख्य आधार बन्ने भएकाले यसलाई गम्भीर रूपमा लिइएको छ।






































