काठमाडौं । लामो समयदेखि अवरुद्ध संसद् सञ्चालन गराउने प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सक्रिय देखिएका छन्। संसद्को गतिरोध अन्त्य गर्ने उद्देश्यसहित उनले विपक्षी दलका शीर्ष नेताहरूसँग पुनः छलफल गरेका छन्। बुधबार भएको छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङदेम्बे, नेकपा एमालेका सांसदहरू, नेकपाका वर्षमान पुन तथा राप्रपाकी खुश्बु ओलीलगायत सहभागी भएका थिए।

स्रोतका अनुसार रविको पहलपछि विपक्षी दलहरू केही लचिलो देखिएका छन्। प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने अडान राख्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।

यसअघि पनि लामिछानेले विपक्षी नेताहरूसँग संवाद गर्दै संसद्को अवरोध हटाउन आग्रह गरेका थिए। उनले प्रधानमन्त्रीको तर्फबाट आफू संसद्मा जवाफ दिन तयार रहेको प्रस्तावसमेत राखेका थिए।