काठमाडौं । सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन भनिएका हजारौं पदाधिकारीले समयमै विवरण नबुझाएपछि सम्पत्ति छानबिन आयोगले म्याद थप गरेको छ। अब सम्बन्धित व्यक्तिहरूले असार मसान्तसम्म सम्पत्ति विवरण पेश गर्न सक्नेछन्।

 आयोगका अनुसार विदेशमा रहेका, विवरण संकलन गर्न समय लागेका तथा विभिन्न व्यावहारिक समस्या देखाउँदै धेरैले म्याद थपको माग गरेका थिए। त्यसैलाई ध्यानमा राखेर अन्तिम पटकका लागि समयावधि बढाइएको हो। जेठ मसान्तसम्म विवरण बुझाउन भनिए पनि म्याद सकिनै लाग्दा करिब ३ हजार ५ सय जनाले मात्रै विवरण बुझाएका छन्। आयोगले अपेक्षा गरेअनुसार विवरण नआएपछि थप समय दिनुपरेको जनाएको छ।

पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका पदाधिकारीलाई सम्पत्ति विवरण बुझाउन निर्देशन दिइएको थियो। अब थपिएको समयभित्र विवरण नबुझाउनेहरूबारे आयोगले कस्तो कदम चाल्छ भन्ने चासो बढेको छ। यसैबीच आयोगले प्राप्त भइसकेका सम्पत्ति विवरणको प्रारम्भिक जाँचबुझ प्रक्रिया पनि सुरु गर्ने तयारी गरेको जनाएको छ।