काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘जान्नेलाई छान्ने’ नारामाथि कडा प्रहार गर्दै अवैध धन, सेटिङ र उन्मुक्तिको राजनीतिलाई खुला चुनौती दिएका छन्।
पोखरेलले सुशासनको आवरणमा देशविरुद्धका गतिविधि, गैरकानुनी हस्तक्षेप र स्वार्थ समूहको प्रभावलाई सामान्य बनाउने प्रयास भइरहेको आरोप लगाए। उनले अवैध सम्पत्तिको स्रोतलाई समेत ‘सिस्टमको कमजोरी’ भन्दै ढाकछोप गर्ने प्रवृत्ति मौलाएको टिप्पणी गरे।
उनको भनाइमा अर्थ विधेयकजस्ता संवेदनशील सरकारी दस्ताबेजमा छेडखानी गर्ने, आफ्ना मानिसलाई जोगाउने र विरोधीलाई जसरी पनि दोषी देखाउने संस्कृतिले लोकतन्त्र र विधिको शासनमाथि गम्भीर आघात पुर्याइरहेको छ।
पोखरेलले ‘नयाँ’को नाममा गलत कामलाई वैधता दिन खोज्ने प्रवृत्ति खतरनाक रहेको चेतावनी दिँदै सुशासनको बहसलाई नारामा होइन, व्यवहारमा प्रमाणित गर्नुपर्ने बताएका छन्।
एमाले महासचिवको यो अभिव्यक्तिलाई पछिल्लो राजनीतिक ध्रुवीकरण र सुशासनको नाममा राज्यप्रति भइरहेको आघात लाई इंकित गरेको मान्न सकिने राजनीतिक विश्लेषकहरु बताउँछन् ।






































