काठमाडौं । नयाँ नेतृत्व चयनको चरणमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशन अन्तिम समयमा आएर स्थगित भएको छ। मतदान प्रक्रिया अघि बढिसकेको अवस्थामा निर्वाचन आयोगले प्राविधिक र व्यवस्थापकीय कारण देखाउँदै अधिवेशन रोकेको हो।

केन्द्रीय निर्वाचन आयोगका अनुसार मतपत्रमा देखिएका त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्रमाणीकरण गर्न तथा समायोजन सूचीमा परेका करिब ४ सय प्रतिनिधिसम्बन्धी उजुरी टुंग्याउन समय आवश्यक परेपछि प्रक्रिया रोकिएको हो।

निर्वाचन आयोगले प्रदेश निर्वाचन समितिमा थप जनशक्ति व्यवस्थापन गरी निर्वाचनलाई थप व्यवस्थित र विश्वसनीय बनाउने तयारीसमेत भइरहेको जनाएको छ। आयोगले प्रतिनिधि र उम्मेदवारहरूलाई कुनै हल्लाको पछि नलाग्न आग्रह गर्दै बाँकी निर्वाचन प्रक्रिया पुनः सञ्चालन हुने मिति मतदान सुरु हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि सार्वजनिक गरिने जनाएको छ।

बागमती प्रदेश सभापति पदका लागि निवर्तमान सभापति अचुतम लामिछानेसहित उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन्। नेतृत्व चयनको निर्णायक घडीमै अधिवेशन रोकिएपछि प्रदेश नेतृत्वको दौड भने अझै केही समय लम्बिने भएको छ।