काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका महावीर पुनले सरकारी सुविधा र तामझामभन्दा सादगीलाई प्राथमिकता दिएका छन्। मन्त्री निवासको व्यवस्था नहुँदा उनले मन्त्रालयलाई नै अस्थायी बसोबास बनाएका छन्।
पदभार ग्रहण गरेको भोलिपल्टै पुन केही झोला र एउटा कार्टुन बोकेर सिंहदरबारस्थित मन्त्रालय पुगे। उनले आफूले बोकेको सामान नै आफ्नो सम्पत्ति भएको भन्दै ठट्टा मिश्रित शैलीमा जीवनको अनिश्चितताबारे टिप्पणी गरे।
भैँसेपाटीका मन्त्री क्वार्टर जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि सरकारले नयाँ मन्त्रीहरूको आवास व्यवस्थापन गर्न सकेको छैन। यही कारण कतिपय मन्त्री घरबाट आउजाउ गरिरहेका छन् भने केहीले निजी डेरा खोजिरहेका छन्।
यता महावीर पुन भने मन्त्रालयमै बस्ने निर्णय गरेर फेरि एकपटक आफ्नो सादगीपूर्ण जीवनशैलीको उदाहरण बनेका छन्। राष्ट्रिय आविष्कार केन्द्रबाट सिंहदरबारसम्मको उनको यात्रा मन्त्रीको हैसियतभन्दा पनि सेवाभाव र सरल जीवनको सन्देशका रूपमा हेरिएको छ।
मन्त्री पुनको यो कदमले सामाजिक सञ्जालदेखि सार्वजनिक वृत्तसम्म चर्चा पाएको छ। धेरैले यसलाई सादगीको उदाहरण भनेका छन् भने केहीले राज्यको आवास व्यवस्थामाथि प्रश्नसमेत उठाएका छन्।






































