राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ५ मा आगालागी हुँदा १२ घर जलेर नष्ट भएका छन् । मंगलबार भएको आगलागीबाट पाँच परिवारका १२ वटा घर पूर्ण रूपमा नष्ट भएका हुन् । प्रहरीका अनुसार स्थानीय बुचु खंगको घरबाट सुरु भएको आगो केही समयमै फैलिँदा आसपासका घरहरू पनि जलेर क्षतिग्रस्त भएका हुन्। आगलागीबाट बुचु खंगसहित सगन खंग, दुखाई खंग, लखन खंग र नारायण खंगका घरमा ठूलो क्षति पुगेको छ।
स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासपछि आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीको कारण भने अझै खुल्न सकेको छैन।स्थानीयका अनुसार घटनाबाट करिब २५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको अनुमान गरिएको छ। आगलागीपछि प्रभावित परिवारहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


































