काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् विस्तार गर्दै सुधन गुरुङलाई गृह मन्त्री र महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीद्वयले सोमबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । गृह मन्त्री बनेका सुधन गुरुङ गोरखा–१ बाट निर्वाचित सांसद हुन्।
उनी यसअघि पनि गृह मन्त्रीको जिम्मेवारीमा रहेका थिए। सम्पत्ति विवरण सम्बन्धी विवादपछि उनले पदबाट राजीनामा दिएका थिए। पछि सरकारी छानबिन समितिले आरोप पुष्टि नभएको निष्कर्ष निकालेपछि उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्। त्यस्तै, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री नियुक्त भएका महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुन्।
उनी यसअघि पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। गत निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका पुन पुनः सरकारमा फर्किएका हुन्। शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, मन्त्रीहरू तथा सांसदहरूको उपस्थिति रहेको थियो। सरकार विस्तारसँगै प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्लाई थप पूर्णता दिएका छन्।


































