काठमाडौं । प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ । विपक्षी दलहरूले आफ्नो विरोध नहटाएपछि सभामुख डीपी अर्यालले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी विवादका कारण सदनको नियमित कार्यसूची प्रभावित बनेको हो । विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने अडान दोहोर्याउँदै बैठक अवरुद्ध पारेका छन् ।
विपक्षी सांसदहरूले सरकारबाट स्पष्ट जवाफ र विवादित अभिव्यक्ति सच्याउन माग गरिरहेका छन् । तर सत्तापक्ष र विपक्षबीच सहमति जुट्न नसक्दा संसद्को कामकारबाही लगातार प्रभावित हुँदै आएको छ । सदन सञ्चालनको वातावरण बनाउन विभिन्न तहमा छलफल भए पनि निष्कर्ष ननिस्कँदा प्रतिनिधि सभा बैठक अर्को दिनका लागि सारिएको हो ।


































