काठमाडौं । संसदमा आज विरोधको नयाँ शैली देखियो। नाराबाजी होइन, पाँच मिनेटको मौनतामार्फत विपक्षी दलहरूले सरकारलाई दबाब दिने प्रयास गरे। शहीदहरूको सम्मानको नाममा गरिएको यो मौनधारणले संसदमा अनौठो दृश्य सिर्जना गर्‍यो र राजनीतिक बहसलाई थप उचाई दियो । सामान्यतया नाराबाजी, वेल घेराउ वा बैठक अवरोध गर्ने विपक्षी दलहरूले यसपटक शहीदको सम्मानको नाममा पाँच मिनेट मौनधारण गर्दै सरकारविरुद्ध आफ्नो असन्तुष्टि प्रकट गरेका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर निरन्तर विरोध गरिरहेका विपक्षी सांसदहरूले संसदभित्र नयाँ राजनीतिक सन्देश दिन खोजेका हुन्। नेपाली कांग्रेसका सचेतक निश्कल राईले नेपालको राष्ट्रिय एकता, सार्वभौमिकता र सीमाको रक्षाका लागि योगदान दिएका वीर योद्धा तथा शहीदहरूको स्मरण गर्दै मौनधारणको प्रस्ताव राखेका थिए।

राईले पृथ्वीनारायण शाहदेखि वीर बलभद्र कुँवर, अमरसिंह थापा, भक्ति थापा र भीमसेन थापासम्मका ऐतिहासिक व्यक्तित्वहरूको योगदान स्मरण गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले उनीहरूको बलिदानप्रति सम्मान घटाएको टिप्पणी गरे।

उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने माग दोहोर्याउँदै शहीदहरूको सम्मानमा पाँच मिनेट मौनधारण गर्न सांसदहरूलाई आग्रह गरे। त्यसपछि विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर मौन बसेका थिए।

संसदमा राजनीतिक विरोधका अनेक शैली देखिँदै आएका छन्। तर शहीदको सम्मानलाई प्रतिरोधको माध्यम बनाउँदै पाँच मिनेटसम्म मौनधारण गरिएको घटना भने दुर्लभ मानिएको छ। यसले संसदभित्रको राजनीतिक तनाव मात्र होइन, विपक्षी दलहरूले अपनाइरहेको नयाँ रणनीतिलाई समेत उजागर गरेको छ।