काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको लामो समयदेखिको नेतृत्व विवाद समाधान गर्न सरकारले तदर्थ समिति गठन गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले विशाल कुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरेको हो।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार नवगठित समितिले रेडक्रसको संगठनात्मक गतिविधि सञ्चालन गर्दै आगामी प्रक्रिया अघि बढाउनेछ। भण्डारी यसअघि नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्षको जिम्मेवारीमा समेत रहिसकेका व्यक्ति हुन्।
मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङसँग सम्बन्धित अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन पनि ग्रहण गरेको छ। उक्त प्रतिवेदनबारे थप निर्णय भने सार्वजनिक गरिएको छैन।बैठकले ऊर्जा क्षेत्रसँग सम्बन्धित केही महत्वपूर्ण आयोजना अघि बढाउन पनि बाटो खुला गरेको छ। तल्लो अरुण, लोअर न्यादी, घुन्सा खोला र तादी खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरिएको छ।
यस्तै, निजामती सेवासम्बन्धी व्यवस्थालाई थप व्यवस्थित बनाउन सरकारले निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली–२०८३ समेत स्वीकृत गरेको छ।





































