काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधान प्रयासले नयाँ मोड लिएको छ । पूर्णबहादुर खड्कासँग सहमति जुट्ने संकेत नदेखिएपछि संस्थापन पक्षले इतर समूहका अन्य शीर्ष नेताहरूसँग प्रत्यक्ष संवाद थालेको छ ।
संस्थापनले डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा। शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई परिमार्जित सातबुँदे प्रस्ताव पठाएको छ । यसअघि खड्कालाई मात्रै दिइएको प्रस्तावमा प्रतिक्रिया नआएपछि सहमतिको दायरा फराकिलो बनाइएको हो ।
पार्टीभित्रको लामो विवाद अन्त्य गर्न संस्थापन सक्रिय देखिए पनि इतर समूहले भने अब धेरै प्रतीक्षा नगर्ने संकेत दिएको छ । इतर पक्षले जेठ मसान्तभित्र सहमति नभए देशव्यापी भेला बोलाएर १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
दुवै पक्षबीच संवाद जारी रहे पनि साझा निष्कर्ष अझै टाढा देखिएको छ । कांग्रेसभित्रको शक्ति संघर्ष सहमतिमा टुंगिन्छ कि नयाँ ध्रुवीकरणतर्फ जान्छ भन्ने चासो बढिरहेका बेला अब सबैको नजर जेठ मसान्ततर्फ केन्द्रित भएको छ ।






































