काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार बहुमतको आडमा संवैधानिक सीमा नाघ्ने दिशातर्फ गएको आरोप लगाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै लिङ्देनले प्रतिपक्ष कमजोर देखिए पनि शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलनको व्यवस्थामाथि हस्तक्षेप गर्न नहुने बताएका हुन्। उनले संसद्मा संख्या धेरै हुनु भनेको राज्यका सबै निकायमाथि प्रभाव जमाउने छुट नभएको भन्दै सरकारलाई संवैधानिक मर्यादा भित्रै रहेर काम गर्न सुझाव दिए।

लिङ्देनले वैदेशिक सम्बन्धजस्तो संवेदनशील विषयमा पनि सरकार र राजनीतिक दलहरूले परिपक्वता देखाउनुपर्ने बताए। उनले रवि लामिछानेको भारत भ्रमणबारे भ्रमणअघि नै सर्वदलीय छलफल भएको भए अझ सकारात्मक सन्देश जाने धारणा राखे।

उनका अनुसार वर्तमान राजनीतिक परिस्थितिमा सरकारका केही गतिविधिले शक्ति सन्तुलनको सिद्धान्त कमजोर बनाउन खोजेको देखिएको छ। त्यसैले बहुमतको बलमा होइन, संवैधानिक सीमा र लोकतान्त्रिक मूल्यको आधारमा सरकार अघि बढ्नुपर्ने लिङ्देनले बताएका छन् । 

लिङ्देनले सर्वदलीय बैठकमा संसद्को अवरोध वा राजनीतिक गतिरोध अन्त्यबारे कुनै ठोस छलफल नभएको समेत उल्लेख गरे ।