पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनामा रहेका महेन्द्र भोटेलाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले भोटेसँग सम्बन्धित १७ करोड रुपैयाँ बिगो रकम तिर्ने कबुलनामाको आधारमा ५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि भोटेले तोकिएको धरौटी रकम बुझाएका छन्। त्यससँगै उनी थुनामुक्त भएका छन्।

सूर्यदर्शन सहकारीको बचत रकम हिनामिना भएको आरोपमा अनुसन्धान तथा मुद्दा प्रक्रिया चलिरहेका बेला भोटेले बिगो रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। सोही आधारलाई अदालतले धरौटी निर्धारणको प्रमुख आधार बनाएको बताइएको छ।

यो प्रकरणमा सहकारीका बचतकर्ताको रकम अपचलन भएको आरोपमा विभिन्न व्यक्तिविरुद्ध मुद्दा दायर भएको छ। अदालतमा मुद्दाको सुनुवाइ प्रक्रिया भने अझै जारी रहेको छ।