गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक प्रतिस्पर्धाभन्दा विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। गोरखामा आयोजित रास्वपाको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले जनताले दिएको मत द्वन्द्व र आरोप–प्रत्यारोपका लागि नभई परिणाममुखी कामका लागि भएको उल्लेख गरे।उनले विकास निर्माणका परियोजनामा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको भन्दै साझा प्रयासबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताए।

बुर्लाकोटीले लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको पहल भइरहेको जानकारी दिँदै निजी क्षेत्रको लगानीमार्फत उद्योगलाई पुनर्जीवित गर्ने सम्भावना बलियो रहेको बताए। “उद्योग जसरी भए पनि चल्नुपर्छ, स्वदेशी उत्पादनले बजार पाउनुपर्छ,” उनले भने। उनले बूढीगण्डकी जलविद्युत् आयोजनालाई पनि प्राथमिकतामा राखिएको बताउँदै आगामी आर्थिक वर्षमा बजेट विनियोजन भएको र अधिकारसम्पन्न संरचना बनाएर निर्माण प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

महामन्त्री बुर्लाकोटीले वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्समा मात्र निर्भर भएर आर्थिक समृद्धि सम्भव नहुने धारणा राख्दै देशभित्र उद्योग, उत्पादन र रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए। उनका अनुसार सरकारले ल्याएको नयाँ बजेट उत्पादन, पूर्वाधार विकास र आर्थिक गतिविधि विस्तारतर्फ केन्द्रित छ।

“राजनीति सही दिशामा अघि बढे मात्रै अर्थतन्त्र, उद्योग र विकासका अन्य क्षेत्रले गति लिन सक्छन्,” भन्दै उनले सुशासन र आर्थिक रूपान्तरणलाई सरकारको मुख्य लक्ष्य रहेको बताए।