काठमाडौं । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद थप चर्किएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीको भनाइलाई ‘गम्भीर राष्ट्रघात’ भन्दै सार्वजनिक रूपमा कडा विरोध जनाएको छ।  विज्ञप्ती जारी गर्दै नेकपाले नेकपाले कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता संवेदनशील राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति नेपालको आधिकारिक अडान, इतिहास र जनभावनाविपरीत रहेको आरोप लगाएको छ।

पार्टीले भारतद्वारा नेपाली भूमि अतिक्रमण भएको विषयलाई कमजोर पार्ने गरी नेपालले पनि भारतीय भूमि कब्जा गरेको जस्तो सन्देश दिनु राष्ट्रिय स्वाभिमानमाथिको आघात भएको दाबी गरेको छ। नेकपाले सीमा समस्या र भूमि अतिक्रमणलाई एउटै विषयका रूपमा बुझ्न नहुने उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय एकतामै असर पार्न सक्ने चेतावनी दिएको छ।

विज्ञप्तिमार्फत नेकपाले प्रधानमन्त्री शाहसँग सार्वजनिक स्पष्टिकरण माग गरेको छ। साथै राष्ट्रिय हितविपरीत देखिएको अभिव्यक्ति फिर्ता लिन र नेपालको भूमि सम्बन्धी स्थापित राष्ट्रिय अडानमा दृढ रहन सरकारलाई आग्रह गरेको छ। पार्टीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दाबी दोहोर्‍याउँदै यस्ता विषयमा सम्पूर्ण राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने जनाएको छ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सत्ताबाहिरका दलहरू मात्र होइन, विभिन्न राजनीतिक वृत्तमा समेत बहस बढिरहेका बेला सीमा, राष्ट्रिय स्वाभिमान र कूटनीतिक नीति फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेको छ।