काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजेको बताएका छन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको अडान सधैं दुईपक्षीय वार्तामार्फत समाधान खोज्ने रहेको स्पष्ट पारे।
खनालका अनुसार प्रधानमन्त्रीले बेलायतको नाम लिँदा मध्यस्थताको कुरा नभई ऐतिहासिक दस्तावेज र अभिलेखको पहुँचबारे संकेत गरे। सुगौली सन्धिसँग सम्बन्धित प्रमाणहरू बेलायतका पुस्तकालय वा संग्रहालयमा हुन सक्ने भएकाले त्यसतर्फ चासो देखाइएको उनको भनाइ थियो। प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा विवादबारे बेलायतसँग पनि कुरा भएको उल्लेख गरेपछि भारतमा त्यसको चर्चा भएको थियो। भारतीय पक्षले समेत सीमा विवादमा कुनै तेस्रो पक्षको मध्यस्थता स्वीकार्य नहुने प्रतिक्रिया दिएको थियो।
यही पृष्ठभूमिमा परराष्ट्रमन्त्री खनालको अभिव्यक्ति आएको हो। उनले नेपालले लिपुलेक, कालापानीलगायतका विषयमा आफ्नो दाबी कूटनीतिक माध्यमबाट निरन्तर उठाइरहेको र भविष्यमा पनि संवादकै बाटोबाट समाधान खोजिने बताए।




































