गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङले आफू छानबिनबाट सफाइ पाएर पुनः गृहमन्त्री बनेमा सुरुका दुई महिना बधाई दिन र फोटो खिच्न मन्त्रालय नआउन आग्रह गरेका छन्। रास्वपा गोरखाको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले पदमा फर्किए पहिलो प्राथमिकता काम हुने भएकाले औपचारिक भेटघाटभन्दा जिम्मेवारी पूरा गर्न केन्द्रित हुने संकेत गरेका हुन्।
आफूमाथि उठेका प्रश्नहरूको सामना गर्न तयार रहेको बताउँदै उनले छानबिन समितिसमक्ष खुलेर बयान दिएको बताए। छानबिनबाट सत्य बाहिर आउने र आफू निर्दोष सावित हुने विश्वास पनि उनले व्यक्त गरे।सम्बोधनका क्रममा गुरुङले छानबिनका बेला सम्पत्तिबारे सोधिएको प्रश्न र आफूले दिएको जवाफको प्रसंग सुनाउँदै हलमा उपस्थित कार्यकर्तालाई हँसाएका थिए।
राजनीतिक विषयसँगै उनले पार्टी संगठनबारे पनि धारणा राखे। जिल्ला नेतृत्व स्थानीय तहमै सक्रिय हुनुपर्ने बताउँदै राजधानीमा बसेर राजनीति गर्ने प्रवृत्तिले संगठन कमजोर हुने चेतावनी दिएका छन् ।




































