पोखरा । पोखराको बहुप्रतीक्षित बसपार्क निर्माण योजनाले गति लिन थालेको छ। महानगरपालिकाले दिएको समयसीमा सकिन लाग्दा बसपार्क क्षेत्रभित्र रहेका घर–टहरा स्थानीयवासीले आफैं हटाउन सुरु गरेका छन्।
लामो समयदेखि विवाद र अन्योलमा रहेको बसपार्क क्षेत्र खाली हुन थालेपछि निर्माण कार्य अघि बढ्ने अपेक्षा गरिएको छ। स्थानीयले विकास निर्माणमा सहयोग पुर्याउने उद्देश्यले आफ्ना संरचना भत्काउन र सामान सुरक्षित स्थानमा सार्न थालेका हुन्।
महानगरपालिकाले अतिक्रमित क्षेत्र खाली गर्न १५ दिनको सूचना जारी गरेको थियो। सोही सूचनाको समयसीमा अन्तिम चरणमा पुगेसँगै क्षेत्र खाली गर्ने काम तीव्र बनेको छ।
उता, बसपार्कका लागि वर्षौँअघि अधिग्रहण गरिएको जग्गासम्बन्धी विवाद, क्षतिपूर्ति र स्वामित्वका विषयमा उठेका गुनासो छानबिन गर्न छुट्टै समिति पनि गठन गरिएको छ। समितिलाई तोकिएको समयभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
स्थानीयको सहयोगसँगै पोखराको आधुनिक बसपार्क निर्माणको बहुप्रतीक्षित योजना अब कार्यान्वयनतर्फ अघि बढ्ने देखिएको छ।






































