काठमाडौं ।सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसभित्र केही समयदेखि देखिएको आन्तरिक विवाद अन्ततः मन्त्रालयको भागबण्डामार्फत समाधान भएको छ।
मुख्यमन्त्री कमलबहादुर शाह र असन्तुष्ट समूहबीच सहमति भएपछि अब प्रदेश सरकार पुनर्गठनको तयारी सुरु भएको छ। सहमतिअनुसार कांग्रेसको भागमा रहेका मन्त्रालयमध्ये केही जिम्मेवारी नयाँ अनुहारलाई दिने समझदारी बनेको छ।
मन्त्री बन्ने नाम भने अझै टुंगिएको छैन। दुवै पक्ष अहिले आन्तरिक छलफलमा जुटेका छन्। विभिन्न सांसदहरूले मन्त्री बन्ने इच्छा देखाएपछि अन्तिम निर्णयमा केही समय लाग्न सक्ने बताइएको छ।
स्रोतका अनुसार क्षेत्रीय र समावेशी प्रतिनिधित्वलाई ध्यानमा राखेर मन्त्री छनोट गर्ने तयारी छ। मुख्यमन्त्री शाहले छिट्टै नाम टुंग्याएर सरकारलाई पूर्णता दिने तयारी गरेका छन्।
कांग्रेसभित्रको विवाद साम्य भएसँगै सुदूरपश्चिम सरकारको राजनीतिक स्थिरताबारे देखिएको अन्योल पनि केही हदसम्म हटेको छ।






































