काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नुवाकोटको सभापति पदका लागि राजुप्रसाद लामिछानेले उम्मेदवारी घोषणा गरेका छन् । 

यही जेठ २३ गते हुन गइरहेको प्रथम जिल्ला अधिवेशनमा बेलकोटगढी नगरपालिका वडा नम्बर ७ निवासी लामिछानेले पार्टी संगठनलाई थप मजबुत बनाउने एजेन्डासहित नेतृत्वमा दाबी गरेका हुन् । विगत २२ वर्षभन्दा लामो समयदेखि कपडा व्यवसायमा आवद्ध लामिछाने हाल रास्वपा नुवाकोटको जिल्ला सचिवालय सदस्यका रूपमा कार्यरत छन् । पछिल्लो केही वर्षयता पार्टीमा निरन्तर सक्रिय रहँदै आएका उनी सरल, मृदुभाषी र मिजासिलो स्वभावका कारण कार्यकर्तामाझ लोकप्रिय छन्, भने लामिछानेले संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । 

नुवाकोटमा रास्वपालाई जगैदेखि स्थापित गर्न र संगठनलाई तल्लो तहसम्म विस्तार गर्न लामिछानेले महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उम्मेदवारी घोषणा गर्दै उनले भने, ‘पार्टीलाई जिल्लाभरिका धेरैभन्दा धेरै जनतामाझ पुर्याउन र संगठनलाई नयाँ उचाइमा लैजान मैले सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको हुँ ।’

साथै, लामिछानेले आगामी जेठ २३ गते हुने प्रथम जिल्ला अधिवेशनलाई सभ्य, भव्य र सुसंस्कृत रूपमा सम्पन्न गर्नका लागि पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई हार्दिक आग्रह समेत गरेका छन् ।