काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा एमाले अदालत जाने भएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई  ‘पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रपूर्ण’ भन्दै अदालत जाने भएको हो । 

शुक्रबार महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगको प्रतिवेदन यथास्थितिमा स्वीकार्य नभएको उल्लेख गर्दै पहिलो चरणमा पुनरावलोकनको माग गरिने र आवश्यक परे अदालतको ढोका ढकढक्याइने जनाइएको छ।

एमालेले प्रतिवेदनले तथ्यभन्दा राजनीतिक पूर्वाग्रह बोकेको दाबी गर्दै विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षालाई केन्द्रमा राखेर आगामी रणनीति तय गरिने जनाएको छ।

विज्ञप्तिमा राजनीतिक दल तथा सरोकारवालासँग संवाद र सहकार्य बढाएर साझा धारणा निर्माण गर्ने उल्लेख गरिएको छ। साथै, आयोगसमक्ष आपत्ति दर्ता गर्ने, पुनरावलोकन माग्ने र संवैधानिक प्रश्न उठे न्यायिक पुनरावलोकनका लागि अदालत जानेसम्मका विकल्प खुला राखिएको एमालेको भनाइ छ।