काठमाडौं । मनसुन पूर्ण रूपमा सक्रिय हुनुअघि नै देशभर विपद्का घटनाले चिन्ताजनक रूप लिन थालेका छन्। चालु आर्थिक वर्ष २०८३ को वैशाख १ गतेदेखि जेठ २२ गतेसम्मको अवधिमा मात्रै विभिन्न विपद्का घटनामा परी ८६ जनाले ज्यान गुमाएका छन् भने ४ सय ७२ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार झण्डै दुई महिनाको अवधिमा देशभर १ हजार ८ सय ४९ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनाबाट २ हजार ४ सय ४८ परिवार प्रत्यक्ष प्रभावित भएका छन्। तथ्यांकले सबैभन्दा बढी मानवीय क्षति लेक लाग्नु र आगलागीबाट भएको देखाएको छ। ४५ वटा लेक लाग्ने घटनामा १८ जनाको मृत्यु भएको छ भने ६ सय ३६ वटा आगलागीका घटनामा १५ जनाले ज्यान गुमाएका छन्।

यस्तै, मौसम परिवर्तनसँगै चट्याङ र हावाहुरीका घटनाले पनि ठूलो क्षति पुर्‍याएको छ। चट्याङका १ सय ४८ घटनामा १४ जनाको मृत्यु भएको छ भने ४ सय वटा हावाहुरीका घटनामा १३ जनाले ज्यान गुमाएका छन्। तराई र पहाडी जिल्लामा सर्पदंशको जोखिम पनि बढ्दो देखिएको छ। यस अवधिमा १ सय ७५ वटा सर्पदंशका घटनामा ९ जनाको मृत्यु भएको छ भने १ सय ६६ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार वन्यजन्तुको आक्रमण, बाढी, पहिरो, डुङ्गा दुर्घटना, वन डढेलो र हिउँ पहिरोका घटनाले पनि मानवीय क्षति पुर्‍याएका छन्। मनसुनको मुख्य समय अझै बाँकी रहेकाले आगामी दिनमा बाढी, पहिरो र मौसमजन्य विपद्को जोखिम थप बढ्न सक्ने चेतावनी प्राधिकरणले दिएको छ। त्यसैले नागरिकलाई सतर्क रहन र आधिकारिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरिएको छ।