काठमाडौं । अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर आफ्नो अभिलेख अद्यावधिक नगरेका निजामती कर्मचारीलाई सरकारले कडा चेतावनी दिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सम्पर्कविहीन कर्मचारीलाई तीन दिनभित्र अनिवार्य रूपमा सम्पर्कमा आउन र आफ्नो विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीको विवरण यकिन गर्ने प्रक्रिया सुरु गरिएको छ। यस क्रममा बिदा अवधि समाप्त भइसकेका कर्मचारी कार्यालयमा हाजिर भए–नभएको अवस्था समेत खोजबिन गरिने जनाइएको छ।
मन्त्रालयले नेपाल सरकारअन्तर्गतका मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीयस्तरका कार्यालयलाई समेत आफ्ना कर्मचारीको विवरण पुनः परीक्षण गर्न निर्देशन दिएको छ। विभिन्न समयमा अध्ययन बिदा वा असाधारण बिदा स्वीकृत भएका कर्मचारीहरूको नाम, बिदाको अवधि, अवधि समाप्तिपछि कर्मचारी हाजिर भए–नभएको अवस्था तथा अन्य आवश्यक विवरण राष्ट्रिय किताबखानासँग समन्वय गरी यकिन गर्न भनिएको छ।
सरकारले तोकिएको समयभित्र अभिलेख अद्यावधिक नगर्ने तथा सम्पर्कमा नआउने कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ। मन्त्रालयले तीन दिनभित्र सम्पूर्ण विवरण अद्यावधिक गर्न आग्रह गर्दै बेवास्ता गरे त्यसको जिम्मेवारी सम्बन्धित कर्मचारी स्वयंले लिनुपर्ने जनाएको छ।
सरकारले पछिल्लो समय निजामती प्रशासनलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने अभियानअन्तर्गत कर्मचारीहरूको अभिलेख व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ। सोही अभियानको भागस्वरूप लामो समयदेखि बिदामा रहेका तथा अभिलेख अद्यावधिक नगरेका कर्मचारीको अवस्था यकिन गर्न यो कदम चालिएको मन्त्रालयको भनाइ छ।




































