काठमाडौं । शुक्रबार अर्था त आज बस्ने भनिएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । सरकारी निकायहरूको कामकारबाहीमाथि निगरानी बढाउने तयारीमा रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न नसक्दा समितिका आगामी कार्ययोजना प्रभावित भएका छन्।
समितिको बैठक आज दिउँसो १ बजेका लागि तय भएको थियो । बैठकमा अघिल्ला बैठकका निर्णयहरूको कार्यान्वयन प्रगति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो। साथै, समितिको कामलाई थप प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गर्ने तयारीसमेत गरिएको थियो। तर बैठक बस्न सकेन ।
समितिले बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति तथा समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय एवं निकायहरूको कामकारबाही अध्ययन तथा निगरानी उपसमिति गठन गर्ने तयारी गरेको थियो। तर बैठक नै स्थगित भएपछि ती प्रक्रिया तत्कालका लागि अघि बढ्न सकेनन्।
समितिले आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न सरकारी निकायहरूको स्थलगत अनुगमन गर्ने योजना पनि बनाएको थियो। बैठक नबस्दा अनुगमन कार्यक्रमको तयारीसमेत प्रभावित भएको छ।
बैठक स्थगित हुनुको कारण भने सार्वजनिक गरिएको छैन। समितिको अर्को बैठक कहिले बस्ने भन्ने विषयमा पनि हालसम्म कुनै जानकारी दिइएको छैन।




































