काठमाडौं । नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवमाथि कारबाही गरेको छ। केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप पुष्टि भएपछि यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।
यादवविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा पार्टी हितविपरीत गतिविधि भएको निष्कर्ष निकालेपछि अनुशासन समितिले कडा कदम चालेको जनाएको छ। यता, सोही प्रकरणमा स्पष्टीकरण सोधिएका सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले भने राहत पाएका छन्। उनीहरूले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको जवाफ दिएका थिए।
समितिले उनीहरूको स्पष्टीकरणलाई स्वीकार गर्दै आगामी दिनमा पार्टी विधान र अनुशासनप्रति पूर्ण प्रतिबद्ध भएर काम गर्न निर्देशन दिएको छ। त्यस्तै, बारा कांग्रेसका उपसभापति अमिरीलाल राउत ९पाल० विरुद्ध परेको उजुरीसमेत पुष्टि हुन नसकेपछि उनलाई सफाइ दिइएको छ।





































