काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विवाद चुलिँदै गएको बेला नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री बालेन शाहको राजिनामा माग गरेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विभिन्न जनसंगठनले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । 

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले संसद्मा दिएको भनिएको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमानमाथि चोट पुगेको आरोप लगाएका छन्। उनीहरूले राष्ट्रहितविपरीत अभिव्यक्ति दिने नेतृत्वलाई जनताले स्वीकार गर्न नसक्ने भन्दै सरकारलाई खबरदारी गरेका थिए।

जनवर्गीय संगठन समन्वय मोर्चाको नेतृत्वमा भएको विरोध कार्यक्रममा सहभागीहरूले राष्ट्रियताको पक्षमा उभिन सरकारलाई दबाब दिनुपर्ने धारणा राखे। प्रदर्शनका क्रममा ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर’, ‘राष्ट्रिय हितमाथि खेलबाड बन्द गर’ लगायतका नारासमेत लगाइएको थियो।

विरोध सभालाई सम्बोधन गर्दै नेकपाका नेताहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार र राष्ट्रहितविरोधी भएको आरोप लगाए। उनीहरूले देशको कार्यकारी नेतृत्वमा रहेका व्यक्तिले सीमा र राष्ट्रियताजस्ता संवेदनशील विषयमा बोल्दा थप जिम्मेवार हुनुपर्ने बताएका छन्।

नेकपाले प्रधानमन्त्रीले सार्वजनिक रूपमा आफ्नो भनाइ सच्याउनुपर्ने र त्यसो नगरे जनस्तरबाट थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ। माइतीघरमा भएको प्रदर्शनलाई सरकारले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। बालेनको अभिव्यक्तिको चौतर्फी आलोचना विवाद र प्रदर्शन भईरहेको छ ।