मोरङ । झापाको दमक नगरपालिका–८ निवासी २१ वर्षीया रोमा भनिने रमा तिवारीको हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरी अझै स्पष्ट निष्कर्षमा पुग्न सकेको छैन । घटनाको पाँच दिन बितिसक्दा पनि हत्या कहाँ, कसरी र कसले ग¥यो भन्ने मुख्य प्रश्नको उत्तर प्रहरीले फेला पार्न सकेको छैन । यद्यपि, घटनाको प्रकृति, भेटिएका प्रमाण र प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले हत्या अन्यत्रै गरेर शव रतुवा खोलामा ल्याएर फालिएको निष्कर्ष निकालेको छ ।


गत जेठ १६ गते शनिबार बिहान मोरङ–झापा सीमास्थित सेतुमाडी क्षेत्रको रतुवा खोलामा प्लास्टिकको बोराभित्र पोको पारिएको अवस्थामा एक युवतीको शव फेला परेको थियो । स्थानीयले खोलामा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरी टोलीले बोराभित्र रहेको शव निकालेको थियो। प्रारम्भिक पहिचान हुन नसकेको शव पछि दमक–८ की रमा तिवारीको रहेको पुष्टि भएको थियो । घटनाले झापा र मोरङ क्षेत्रलाई स्तब्ध बनाएको छ । एक सामान्य परिवारकी युवतीको यसरी हत्या भएको अवस्थामा शव फेला परेपछि स्थानीय समुदायमा त्रास र आक्रोश दुवै देखिएको छ । परिवारले दोषीलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न माग गरिरहेका छन् भने प्रहरीले अनुसन्धानलाई प्राथमिकतामा राखेको जनाएको छ ।


अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार शव भेटिएको स्थानलाई ‘सेकेन्डरी लोकेसन’ मानिएको छ । अर्थात् हत्या त्यहीँ नभई अन्यत्र गरिएको र पछि शवलाई बोरामा प्याक गरेर खोलामा फालिएको अनुमान छ। झापा प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सुमन बानियाँका अनुसार घटनास्थलको अवस्था, शवको स्थिति र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा हत्या अन्यत्र भएको देखिन्छ । शव भेटिएको स्थान घटनाको मुख्यस्थल होइन भन्ने हाम्रो प्रारम्भिक निष्कर्ष छ, प्रहरी स्रोतले जनाएको छ । ‘जहाँ हत्या भयो, त्यो प्राथमिक स्थल अर्थात् प्राइमरी लोकेसन पहिचान गर्न सकियो भने घटनाका धेरै रहस्य खुल्ने सम्भावना छ ।’ प्रहरीका अनुसार रमा तिवारी गत बुधबार साँझ घरबाट बाहिरिएकी थिइन् । परिवारका सदस्यले दिएको जानकारीअनुसार उनी राति करिब ८ बजेतिर साथी भेट्न भनेर घरबाट निस्किएकी थिइन् । त्यसपछि उनी घर फर्किनन् । परिवारले सम्पर्क गर्ने प्रयास गर्दा पनि सम्पर्क हुन नसकेपछि चिन्ता बढेको थियो । केही दिनपछि उनको शव फेला परेपछि परिवार शोकमा डुबेको छ ।


अनुसन्धानको क्रममा प्रहरीले रमाको मोबाइल फोनको विवरण पनि अध्ययन गरेको छ । प्राविधिक विश्लेषणबाट उनको मोबाइलको अन्तिम सक्रिय लोकेसन दमक बजार क्षेत्रमा देखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार राति करिब ११ बजेको आसपासमा मोबाइल फोन बन्द भएको देखिन्छ । त्यसपछि मोबाइल सक्रिय भएको कुनै संकेत भेटिएको छैन । मोबाइलको अन्तिम लोकेसन, सम्पर्कमा रहेका व्यक्तिहरू, सीसीटीभी फुटेज र अन्य डिजिटल प्रमाणको विश्लेषण गरेर घटनाको शृंखला जोड्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर अहिलेसम्म घटनालाई पूर्ण रूपमा स्पष्ट पार्ने निर्णायक प्रमाण भने हात लागेको छैन । प्रहरीले अनुसन्धानको क्रममा रमासँग अन्तिम समयसम्म सम्पर्कमा रहेका व्यक्तिहरूमाथि सोधपुछ गरिरहेको छ । परिवारले दिएको जानकारीअनुसार रमालाई भेट्न बोलाउने एक युवक सोही दिन सुधार केन्द्रबाट छुटेका थिए । प्रहरीले ती युवकसँग विस्तृत सोधपुछ गरेको भए पनि उनको संलग्नता पुष्टि गर्ने आधार हालसम्म फेला परेको छैन ।


अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार घटनाको प्रकृति हेर्दा एक व्यक्तिले मात्र हत्या गरेको सम्भावना कम देखिन्छ । शव बोक्ने, बोरामा प्याक गर्ने र खोलासम्म पु¥याउने काममा एकभन्दा बढी व्यक्ति संलग्न हुन सक्ने अनुमान गरिएको छ । यद्यपि यो प्रारम्भिक विश्लेषण मात्र भएकाले अनुसन्धानले पुष्टि नगरेसम्म कुनै निष्कर्ष निकाल्न नमिल्ने प्रहरीको भनाइ छ । यसबीच सामाजिक सञ्जालमा घटना सम्बन्धी अनेक अड्कलबाजी, अपुष्ट दाबी र अनुमानमा आधारित सामग्रीहरू सार्वजनिक भइरहेका छन् । केही युट्युब च्यानल र कन्टेन्ट क्रिएटरहरूले घटनाबारे विभिन्न व्यक्तिलाई जोडेर सामग्री बनाइरहेका छन्। प्रहरीले यस्ता सामग्रीले अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै गम्भीर चासो व्यक्त गरेको छ ।


प्रहरीको भनाइमा अनुसन्धानको संवेदनशील चरणमा अपुष्ट सूचना सार्वजनिक हुँदा वास्तविक तथ्य पत्ता लगाउने प्रक्रियामा बाधा पुग्न सक्छ । यसले निर्दोष व्यक्तिमाथि अनावश्यक शंका उत्पन्न गर्नुका साथै सम्भावित प्रमाणसमेत प्रभावित हुन सक्ने जोखिम रहन्छ ।